आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौँ, २ माघ – आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । भूकम्पबाट हुने जोखिम न्यूनीकरण तथा पूर्वतयारीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष माघ २ गते यो दिवस मनाइँदै आएको छ ।
यस वर्ष काठमाडौँको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना गरिएको छ । त्यसैगरी आज दिउँसो ठीक २ः२४ बजे सञ्चारमाध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षा अभ्यासमा सहभागी भएर दिवस मनाइँदैछ ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले देशभर जनधनको ठूलो क्षति पुर्याएको थियो । उक्त भूकम्पमा परी आठ हजार आठ सय १९ जनाको ज्यान गएको थियो भने करिब ८० हजार घर ध्वस्त भएका थिए ।
त्यस भूकम्पका कारण घर, विद्यालय, देवालय, पाटीपौवा तथा अन्य सार्वजनिक भवनसहित दुई लाख सात हजार दुई सय ४८ वटा संरचना भत्किएका थिए । यसैगरी विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी आठ हजार ६ सय ७० जनाको मृत्यु भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो ।
भूकम्पप्रति सचेतना फैलाउने, जोखिम न्यूनीकरण गर्ने र विपद्का बेला अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे जानकारी दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको सरोकारवाला निकायले जनाएका छन् ।

