मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ : महाशाखा
काठमाडौं, २६ साउन – केही दिनयता मत्थर देखिएको वर्षा पुनः बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।
‘न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदै छ,’ मौसमविद् प्रधानांगले भने, ‘बिहीबारदेखि वर्षाको मात्रा बढ्ने र केही दिन जारी हुने देखिएको छ।’ महाशाखाका अनुसार देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

