१८ फर्ममा विभागको अनुगमन, एकलाई जरिवाना
काठमाडौँ, २९ पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरी कारबाही प्रक्रिया अघि बढाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको ठहर गर्दै विभागले न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ। विभागले विभिन्न पेन्ट कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री वितरण गर्ने स्थानमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा नियम उल्लङ्घन पाइएको एक फर्मलाई नगद जरिवाना गरिँदा बाँकी १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागले नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै कालाबजारी नियन्त्रण, उपभोक्ता अधिकार संरक्षण, वातावरणीय सुधार तथा अनुशासन कायम गर्ने उद्देश्यका साथ कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

