नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदै
काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम आयोजना गरिनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा गरिएको थियो ।
तर प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाइए पनि सभापति देउवाले सहभागी नहुने जानकारी दिनुभएको छ । संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । संस्थापन पक्षले आजकै मितिमा जिल्ला सभापति र युवा कार्यकर्ताको भेला पनि आह्वान गरेको छ ।
आज उद्घाटन कार्यक्रमपछि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको सभापतित्व विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले गर्ने तय भएको छ । तर, कसले सभापतित्व गर्ने भन्ने विषय भने टुंगो लागिनसकेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिनुभयो ।
विशेष महाधिवेशन सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्दसत्रको सभापतित्व गर्ने सम्भावना रहेको छ । पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका हुन् ।
आचार्यका अनुसार २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ जिल्ला सभापतिको हैसियतमा गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । सोही परम्परा अनुसार यसपटक काठमाडौँ जिल्ला सभापतिले उद्घाटनको सभापतित्व गर्ने जानकारी दिनुभयो ।
विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाबाट आएका प्रतिनिधिहरू शनिबार नै काठमाडौँ आइपुगेका छन् । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ ।

