‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा छ’ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, २६ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिजो देश नबनेकोमा चिन्ता रहे पनि अहिले देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार जारी गरिएको भिडियो सन्देशमा उनले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेका संकटहरूले चिन्तित बनाएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले भने, “नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।”

उनले भाषण, जादू र चमत्कारले देश नबन्ने उल्लेख गर्दै सबै नेपालीले कर्तव्यबोधका साथ ‘पृथ्वीपथ’मा लाग्न आह्वान गरे । “भाषण अनि जादू, चमत्कारले यो देश बनेको होइन, र बन्दैन पनि,” उनले भने, “सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ ।”

झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिने प्रतिबद्धतासहित सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित र संरक्षित निकायमा बुझाएको र सहयोगी भावनाका साथ राजकाजबाट बाहिरिएको उनले बताए ।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमै सुरु गरेको एकीकरण अभियान सफल भएपछि आधुनिक नेपाललाई चार वर्ण ३६ जातको साझा फुलबारीका रूपमा चित्रण गरेको स्मरण गराए ।

सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै विमुख हुन नसक्ने उनले पुनः दोहोर्‍याए ।

Facebook Comments Box