२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौँ, २६ पुस – मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको विवरणअनुसार गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेको विदेशी मुद्रा सञ्चिति गत मङ्सिर मसान्तसम्म आइपुग्दा १८ दशमलव सात प्रतिशतले वृद्धि भएको हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ३५ अर्ब पुगेको छ । कुल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । यसैबीच, चालु आर्थिक वर्षको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले घटेर रु ३३ अर्ब ९७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो ।
विदेश अध्ययनमा ५६ अर्ब ५२ करोड बाहिरियो
समीक्षा अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले वृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकोमा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड थियो ।

