क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य

काठमाडौँ, २६ पुस – क्यासिनोमा आउने कुनै पनि ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरेमा त्यसको विवरण अनिवार्य रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।

क्यासिनोमा हुने आर्थिक कारोबारलाई पारदर्शी, व्यवस्थित र कानुनसम्मत् बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ । विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन क्यासिनो व्यवसायीका लागि जारी गरिएको यो निर्देशन तत्काल लागू हुनेछ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरिएको विभागले जनाएको छ । यस व्यवस्थाअनुसार क्यासिनो सञ्चालकले उच्च रकम खर्च गर्ने ग्राहकको पहिचान, कारोबार विवरण र आवश्यक अभिलेख सुरक्षित रूपमा राख्नुपर्नेछ ।

Facebook Comments Box