४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री–वितरण नगर्न विभागको निर्देशन

काठमाडौँ, २५ पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री–वितरणमा कडाइ गर्ने भएको छ । विभागले एकैपटक १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको बिक्री–वितरण नगर्न निर्देशन दिएको हो । अनुगमनका क्रममा विभागले सम्बन्धित उद्योग तथा पसललाई आवश्यक सुधारात्मक निर्देशनसमेत दिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । विभागले निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग र दीक्षा स्टोरलाई आवश्यक निर्देशन दिएको छ ।

यस्तै, पशुपतिनाथ इन्टरप्राइजेज, युनिभर्सल ट्रेडर्सलगायत अन्य प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई पनि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको बिक्री–वितरण नगर्न नगराउन निर्देशन दिइएको छ । वातावरण संरक्षणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको विभागले जनाएको छ ।

Facebook Comments Box