दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको घरदैलोमै भत्तासँगै न्यानो कपडा

भोजपुर, २४ पुस – भोजपुरको रामप्रसाद राई गाउँपालिकाले दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ। गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो।

घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो। भौगोलिक विकटताका कारण सेवा लिन गाउँपालिका केन्द्रसम्म आउन कठिन भएकाले नागरिकको घरपायकमै सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो।

“नागरिकको सहजतालाई प्राथमिकतामा राख्दै घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “भौगोलिक विकटताका कारण सेवा लिन समस्या भइरहेको अवस्थामा स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो।” गाउँपालिकाले ‘ज्येष्ठ नागरिकप्रति दायित्व कार्यक्रम’ अन्तर्गत ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ।

जाडो मौसममा न्यानो कपडा पाएपछि आफूहरूलाई राहत मिलेको ज्येष्ठ नागरिकले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार घरदैलोमै भत्ता, स्वास्थ्य सेवा र न्यानो कपडा उपलब्ध हुँदा सेवा लिन टाढा धाउनु नपर्ने भएकाले कार्यक्रम प्रभावकारी बनेको छ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिने जनाएको छ।

Facebook Comments Box