राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती, २३ पुस – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा दुई सिटमा छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार एक महिला र एक अन्य समूह गरी दुई सिटका लागि विभिन्न चार राजनीतिक दलका तीन महिला र तीन पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अन्य क्लस्टरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुक्षुले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

उम्मेदवारहरूले आफ्ना प्रस्तावक र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू निर्वाचनको अङ्कगणितमा जुटेका छन् ।

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल तीन सय ४८ मतदाता छन् । बागमती प्रदेशको कुल मतभार १० हजार तीन सय ५२ रहेको छ ।

प्रदेशसभामा ३७ सिट र स्थानीय तहतर्फ १०८ जनाको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसको मतभार चार हजार १३ छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको गठबन्धनको मतभार दुई हजार सात सय ३८ रहेको छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मतभारसहित तेस्रो स्थानमा छ । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय आठ मतभार छ भने नेपाल मजदुर किसान पार्टीको एक सय ९७, हाम्रो नेपाली पार्टीको एक सय छ र स्वतन्त्रतर्फ १९ मतभार रहेको छ

Facebook Comments Box