भार्सेमा भिक्टोरिया क्रस विजेता कर्नबहादुर रानाको सालिक स्थापना

गुल्मी, २१ पुस – लाहुरेहरूको गाउँका रूपमा परिचित सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस विजेता कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ। प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध असाधारण बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो।

लाहुरेहरूको इतिहास र योगदानलाई जीवित राख्ने उद्देश्यले निर्माण गरिएको भार्से ग्यालरी परिसरमा उहाँको सालिक स्थापना गरिएको हो। गुल्मीको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो। उहाँले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गर्नुभएको थियो। रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो।

सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताउनुभयो। इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले उहाँप्रति आभार व्यक्त गरेका छन्।

भार्से भूपू सङ्घको नेतृत्वमा करिब रु १६ लाख लागतमा सालिक निर्माण गरिएको हो। गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर सालिक निर्माण गर्नुभएको हो। नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत सालिक निर्माण गरिएको भार्से भूपू सङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ। ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटोसहित सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ। भूपू गोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ।

ग्यालरीमा कम उमेरमै विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उहाँका पिता गिरीप्रसाद बुढाथोकीका तस्बिरसमेत राखिएका छन्। भार्सेमा जन्मिएर हाल हङकङमा बसोबास गर्दै आउनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो।

उहाँले ग्यालरी निर्माणका लागि हालसम्म करिब रु ५७ लाखभन्दा बढी रकम व्यक्तिगत रूपमा लगानी गरिसक्नुभएको छ। हाल ग्यालरीमा भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा बढी तस्बिरहरू सङ्कलन गरिएका छन्।

Facebook Comments Box