चिराइतोको मूल्य घट्दा भोजपुरका किसान चिन्तित
भोजपुर, १८ पु – लेकाली भेगमा उत्पादन हुने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन्। विगत केही वर्षयता किसानको प्रमुख नगदे बालीका रूपमा स्थापित चिराइतोले अपेक्षित मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन्।
गत वर्ष प्रतिमन (४० किलोग्राम) रु ४१ हजारसम्म बिक्री भएको चिराइतो यस वर्ष रु २८ हजारदेखि ३० हजारसम्म मात्र कारोबार भइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिनुभयो। उहाँका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुनु किसानका लागि समस्या बनेको छ।
मूल्य बढ्ने आशामा उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा भण्डारण गरिएको राउतले बताउनुभयो। हाल २० रोपनी क्षेत्रफलमा चिराइतोखेती गर्दै आउनुभएका उहाँले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ। मूल्य घटिरहेमा यस वर्ष आम्दानीमा ठूलो गिरावट आउने उहाँको भनाइ छ।
टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा र सावाललगायत लेकाली क्षेत्र चिराइतो उत्पादनका प्रमुख क्षेत्र मानिन्छन्। यहाँबाट वार्षिक करिब एक हजार मन चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन्। अधिकांश किसानका लागि चिराइतो मुख्य नगदे बालीका रूपमा विकास भइसकेको छ।
चिराइतो ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने तथा पेटसम्बन्धी रोगमा उपयोगी मानिन्छ। औषधीय गुणका कारण यसको माग आन्तरिक तथा अन्तरराष्ट्रिय बजारमा रहे पनि मूल्य अस्थिरता, ढुवानी खर्च र बजार व्यवस्थापनको अभावले किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ।
यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुँदै आएको व्यवसायी बताउँछन्। किसानले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सरकारी सहयोग आवश्यक रहेको माग गरेका छन्।

