रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास
भक्तपुर, १७ पुसः अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन आज भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्य नगरकोटदेखि रानीकोटसम्म उल्लासमय वातावरण देखिएको छ । स्वदेशी पर्यटकको चापका कारण यहाँका होटल खचाखच भरिँदा पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।
विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको बढ्दो आवागमनले भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म चहलपहल बढेको छ । पछिल्ला वर्षयता पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट तथा घ्याम्पेडाँडाका अधिकांश होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् ।
पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेका अनुसार नयाँ वर्षको अवसरमा रातभरि नाचगानसहित उल्लासपूर्वक स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको छ । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको रानीकोट सूर्यविनायक नगरपालिका र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्छ । यहाँबाट काठमाडौँ उपत्यका, भक्तपुर नगरसहित विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
व्यवसायी बके भन्नुहुन्छ, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङ्मा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, गौरीशङ्कर, धौलागिरि र लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरू देख्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँका होटल आन्तरिक पर्यटकले भरिएका छन्, हामी निकै उत्साहित छौँ ।”
सूर्यविनायक–रानीकोट–आशापुरी तथा सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग, साथै सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि यहाँ पर्यटक आवागमन सहज भएको छ । अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीमा थप ऊर्जा र उत्साह दिएको छ ।
व्यवसायी बके भन्छन्, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अघि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएको इतिहासका कारण यो क्षेत्र रानीकोट नामले चिनिन्छ । ऐतिहासिक महत्त्वसँगै यहाँबाट देखिने हिमाल र सूर्योदयले वर्षैभरि पर्यटक आकर्षित गरिरहेको छ ।
नयाँ वर्षमा त झन् भीड बढ्ने गरेको छ ।” ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले पनि अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको चापले होटल व्यवसायमा उत्साह थपिएको बताउनुभयो । उहाँका अनुसार नयाँ वर्षका अवसरमा यहाँका होटल पूर्ण रूपमा भरिएका छन् ।
रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्र होइन, बिदाका दिनहरूमा पनि कोठा पाउन मुस्किल हुन थालेको बताउनुभयो । पिकनिक, पारिवारिक जमघट, एकरात बसाइ तथा विभिन्न निकायका कार्यक्रमका लागि आन्तरिक पर्यटकको आगमन निरन्तर बढिरहेको उहाँको भनाइ छ ।
यसैबीच भक्तपुरकै अर्को प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पनि अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदय अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकले होटलहरू भरिभराउ गरेका छन् । होटल व्यवसायी तथा होटल चौतारीका सञ्चालक बद्री माकका अनुसार सन् २०२५ को बिदाइ र २०२६ को पहिलो सूर्योदय तथा हिमाली दृश्यावलोकनका लागि नगरकोटमा पर्यटकको आकर्षण थपिएको छ ।
उहाँ भन्नुहुन्छ, “विदेशी र स्वदेशी दुवै पर्यटकको चाप उत्तिकै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।” सामान्यदेखि पाँचतारेसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ नयाँ होटल खुल्ने क्रमसमेत जारी छ ।
होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो मौसमका बाबजुद नयाँ वर्षको स्वागत र सूर्योदयको आनन्द लिन पर्यटकको आगमन बढ्दा खुसी थपिएको बताउनुहुन्छ । उहाँका अनुसार यसपटक विगत वर्षको तुलनामा पर्यटकको सङ्ख्या बढेको छ ।
होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्नुहुन्छ, “मैले होटल क्षेत्रमा २५ वर्ष काम गरेको छु । कोरोनापछि व्यवसाय उठ्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर अहिले नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै होटल बुक हुन थालेका छन् । स्वदेशी पर्यटकको आगमन बढ्दै गएको छ । यसले व्यवसायमा नयाँ आशा जगाएको छ ।”

