विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा आत्मनिर्भर
बागलुङ, १७ पुस – घर छेउका बारीमा लहरै राखिएका मौरीका घार र घारभित्र भुनभुनाइरहने मौरीसँगै लोकबहादुर केसीको दिन सुरु हुन्छ । मौरीको स्याहार–सम्भारमै उहाँको दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका–७ गावा निवासी ३७ वर्षीय लोकबहादुर केसीले करिब छ वर्ष मलेसियामा बिताउनुभयो ।
तर सोचेअनुसार आम्दानी नहुने र दुःख धेरै भएपछि उहाँ गाउँ फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँले गाउँमै मौरीपालन व्यवसाय सुरु गर्नुभयो । अचेल परदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँग रमाइरहेको उहाँ बताउनुहुन्छ ।केसी बिहानदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा फर्काउने तथा मौरी बिरामी भए–नभएको निरीक्षण गर्ने काममा व्यस्त रहनुहुन्छ ।
विसं २०७६ मा एउटा घारबाट सुरु गरिएको मौरीपालन व्यवसाय हाल ६५ घारमा विस्तार भइसकेको छ । उहाँका अधिकांश दौँतरी जापान, कतार र मलेसियालगायत मुलुकमा भए पनि आफूले गाउँमै बसेर परदेशमा रहेका साथीभाइसरह कमाइ गर्न सकिरहेको केसीको भनाइ छ । व्यवसायको सुरुआतमा बडिगाड गाउँपालिकाले सहयोगस्वरूप रु आठ हजार बराबरको मौरीघार उपलब्ध गराएको थियो ।
त्यसपछि विस्तार गर्दै जाँदा हालसम्म रु १२ लाखभन्दा बढी लगानी गरिसकेको उहाँले जानकारी दिनुभयो । केसी भन्नुहुन्छ, “देश–विदेश जहाँ गए पनि पैसा कमाउन दुःख गर्नैपर्ने रहेछ । छ वर्ष मलेसियामा काम गर्दा समय खेर गएको जस्तो लाग्छ । त्यो समय यहीँ केही गरेको भए धेरै अघि बढिसक्थेँ होला । विदेशले केही सिकायो, अब गाउँमै केही गर्छु भन्ने सोच बन्यो । मौरीपालन राम्रो हुँदै गएको छ, अझै विस्तार गर्ने योजना छ ।”
हाल केसीले वार्षिक करिब रु २२ लाख बराबरको मह र मौरीघार बिक्री गर्दै आउनुभएको छ । एउटा मौरीघार रु १० हजार र प्रतिकिलो मह रु एक हजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । बजारको माग राम्रो भएकाले उत्पादनले माग धान्न नसकेको उहाँको भनाइ छ ।
केसीले उत्पादन गरेको मह बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा बिक्री हुने गरेको छ । नेपालसँगै अमेरिका, साउदी अरेबिया, कतार र जापानसम्म मह निर्यात गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “गाउँमा अपार सम्भावना छन्,” केसी भन्नुहुन्छ, “ती सम्भावनाको सही सदुपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।
विदेश गएपछि बल्ल गाउँठाउँको महत्व बुझियो । अहिले गरिरहेको काम पहिलेदेखि नै गर्नुपर्थ्यो । विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सके स्वाभिमानका साथ बाँच्न सकिने रहेछ । अरू युवाले पनि यो कुरा बुझ्नुपर्छ भन्ने लाग्छ ।”हाल लोकबहादुर केसी यही मौरीपालन व्यवसायबाट १४ सदस्यीय परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ ।

