ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँ, १७ पुस – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यस पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रोअनुसारका चाडपर्व मान्नेहरूले एक–आपसमा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रोमा आधारित इस्वी संवत् सौरमासमा मात्र आधारित रहेको बताइन्छ । यही कारण केही आलोचकहरूले यस पात्रोलाई पूर्ण रूपमा वैज्ञानिक नभएको टिप्पणी गर्ने गरेका छन् । संवत् अध्ययन तथा अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि चल्दै आएको विक्रम संवत् जति वैज्ञानिक नभए पनि इस्वी संवत्को प्रभाव पछिल्लो समय विश्वव्यापी रूपमा विस्तार हुँदै गएको छ ।
एक वर्षको अवधि ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्ड हुने भए पनि दिनभन्दा साना समय एकाइलाई गणनामा उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विक्रम संवत्मा तीन वर्षमा अधिकमासको व्यवस्था गरिएको छ । इस्वी संवत्मा भने ‘लिप इयर’ को माध्यमबाट समय सन्तुलन मिलाउने प्रयास गरिए पनि यस विषयमा पश्चिमा देशहरूबीच पूर्ण मतैक्यता हुन नसकेको डा. पन्तले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने काठमाडौँको ठमेल र बौद्ध क्षेत्रसँगै उपत्यकाबाहिरका पोखरा, सौराहा लगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

