भेडागोठमै पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो
म्याग्दी, १४ पुस – म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेक–बेँसी गर्दै आएको पाँच दशक पूरा भएको छ। सात वर्षको उमेरदेखि भेडाको घुम्ती गोठ सम्हाल्न थालेका नरेन्द्रको दैनिकी आज पनि उस्तै छ। बर्खामा गुर्जा र चुरेन हिमालको फेदीतिर पुग्ने र हिउँदमा गाउँ नजिकैका खर्कमा झर्ने उनको जीवनचक्र कहिल्यै बद्लिएको छैन।
“बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार–सुसारमै समय बित्यो,” नरेन्द्र भन्नुहुन्छ, “घर नजिकै जनकल्याण माध्यमिक विद्यालय हुँदाहुँदै पनि कहिल्यै पढ्न जान पाइएन। बाल्यकालको पारिवारिक बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले निकै पछुतो लाग्छ।”
घरको मुख्य आम्दानीको स्रोत भेडापालन भएकाले नरेन्द्रले बाल्यकाल, तन्नेरी र बुढ्यौली सबै गोठमै बिताउनुभयो। जीवनका सबैभन्दा जोसिला र उत्साहका वर्ष बुकीमै हिउँसँगै पग्लिएको उहाँ बताउनुहुन्छ। उहाँसँग अहिले बाँकी छन् त केवल घामपानी, असिना, हिउँ र वन्यजन्तुसँग जुध्दै बिताएका कठिन सम्झनाहरू।
बालापनका रमाइला क्षण भनेकै भेडाको बथानसँग बिताएका समय भएको नरेन्द्र सुनाउनुहुन्छ। सिकिस्त बिरामी पर्दासमेत उहाँले बुकी छोड्नुभएन। लेकाली क्षेत्रमा चरनलाई ‘बुकी’ र गोठ बस्ने ठाउँलाई ‘खर्क’ भनिन्छ। पुख्यौली पेसालाई निरन्तरता दिँदै आएका नरेन्द्रको गोठमा अहिले २५ वटा मात्र भेडा र पाठापाठी छन्। तन्नेरी अवस्थामा तीन सयसम्म भेडा पालेका उहाँले गोठालाको अभाव र उमेरका कारण क्रमशः सङ्ख्या घटाउँदै लगेको बताउनुहुन्छ।
“एक्लै भेडापालन गर्न मुस्किल छ,” उहाँ भन्नुहुन्छ, “जीवन बुकीमै बित्यो। अब घरखर्च चलाउन पुग्ने जति मात्र पाल्छु। अनपढ भएकाले भेडाको गणना, मूल्य र हिसाबकिताब राख्न अलमल हुँदा झन् दुःख हुन्छ।” फर्काउन मिल्ने भए बाल्यकालमै फर्किएर पढ्न जाने रहर अझै मनमा रहेको नरेन्द्रको अनुभव छ। “पढ्न नपाएर भेडाजस्तै जीवन बिताएजस्तो लाग्छ,” उहाँले भन्नुभयो।
हिउँदभन्दा वर्षामा गोठालो जीवन झन् कष्टकर हुने उहाँको अनुभव छ। जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँ झर्ने नरेन्द्र बर्खामा भने भीषण वर्षा र चिसो सहँदै बुकीमै बस्नुहुन्छ। वर्षामा वन्यजन्तुको आक्रमणबाट पाठापाठी जोगाउन झन् समस्या हुने उहाँ बताउनुहुन्छ। वन्यजन्तुको आक्रमणबाट जोगिन नरेन्द्रले गोठमा भोटे कुकुर पनि पाल्नुभएको छ।
“चितुवाले झम्टिँदा प्रतिकार गरेर मृत्युको मुखबाट बचेको छु,” उहाँ भन्नुहुन्छ, “गोठमा बस्नु सजिलो छैन।” नरेन्द्रजस्तै गुर्जाकै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय भेडाको बथानसँगै गोठमा बिताउनुभएको छ। नौ वर्षको उमेरमा बुकी उक्लिएका गोरेलाई आज पनि भेडाको बथानले घेर्छ। उमेरले शरीरले आराम मागे पनि उहाँको दैनिकी अझै सक्रिय छ। उहाँ वार्षिक करिब १० लाख रुपैयाँ बराबरको भेडा बिक्री हुने बताउनुहुन्छ।
गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक रूपमा भेडापालन गर्दै आएका छन्। युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि भेडागोठ बुढापाकाले धानेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ। भेडा बिक्रीका लागि बजार जानुपर्ने बाध्यता छैन। गाउँमै पूजा–आजामा बलि दिन र मासुका लागि गोठमै पुग्ने चलन छ।
परम्परागत भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराउँदै आएका छन्। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार भेडापालक किसानलाई लक्षित गरी रोगविरुद्धको खोप, औषधि उपचार, गोठालाका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधार कार्यक्रम सञ्चालन भइरहेका छन्।
गोठालाको नियमित स्वास्थ्य परीक्षणसमेत गरिँदै आएको उहाँले बताउनुभयो। धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मल्कबाङमा अहिले पनि परम्परागत घुम्ती गोठमार्फत पशुपालन गर्ने चलन कायम छ।

