प्रतिनिधिसभा निर्वाचनः रौतहटमा एक मतदानस्थलसहित १८ मतदान केन्द्र थप
रौतहट, १४ पुस – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट जिल्लामा एक मतदानस्थलसहित १८ वटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई थप सहज बनाउन मतदान केन्द्र र स्थलको संख्या बढाइएको हो।
२०७९ सालको निर्वाचनमा जिल्लामा ५२३ वटा मतदान केन्द्र रहेकामा यसपटक १८ वटा थपिएर ५४१ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो। त्यसैगरी अघिल्लो निर्वाचनमा २७६ वटा मतदानस्थल रहेकामा यसवर्ष एक मतदानस्थल थप गरी २७७ वटा कायम गरिएको छ। प्रमुख दासका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो।
मतदाता संख्या वृद्धि भएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको उहाँले बताउनुभयो। हाल रौतहट जिल्लामा कूल ४ लाख ३६ हजार ६११ जना मतदाता रहेका छन्। २०७९ सालको निर्वाचनमा भने जिल्लामा ४ लाख १५ हजार ४५५ जना मतदाता रहेका थिए। यसअनुसार यसपटक २१ हजार १५६ जना मतदाता थपिएका छन्। दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहट जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १५७ वटा वडा रहेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल, क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार किरण साह, क्षेत्र नम्बर ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको थियो। उक्त निर्वाचनमा कूल ४ लाख १५ हजार ४५५ मतदातामध्ये २ लाख ८२ हजार ४३० जनाले मतदान गरेका थिए।

