भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर, १२ पुस – आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल नेत्र ज्योति सङ्घले भोजपुरमा बृहत् खोजी तथा उपचार अभियान सञ्चालन गर्ने भएको छ। जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी र समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएपछि समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागिएको हो।

नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यबाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा वडास्तरसम्म पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ। अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उहाँले जानकारी दिनुभयो।

“ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “अभियानअन्तर्गत आँखाको परीक्षण गरिनेछ। सामान्य समस्या भएका नागरिकलाई निःशुल्क चस्मा र औषधि वितरण गरिनेछ भने यहाँ उपचार सम्भव नहुने बिरामीलाई विराटनगर आँखा अस्पतालमा रेफर गरिनेछ।”

हाल सञ्चालनमा रहेको अभियानमार्फत सबै स्थानीय तहका ४० वर्षमाथिका नागरिक तथा जिल्लाका सबै विद्यालयका बालबालिकाको आँखाको परीक्षण, खोजी र आवश्यक उपचार गरिने प्रधानले बताउनुभयो। भोजपुर आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङका अनुसार परीक्षणका क्रममा पहिचान भएका बिरामीलाई भौगोलिक पहुँचका आधारमा उपचारको व्यवस्था मिलाइएको छ।

सदरमुकाम आसपासका नागरिकलाई भोजपुर आँखा तथा कान उपचार केन्द्र, दक्षिणी क्षेत्रका नागरिकलाई हतुवागढी, उत्तरी क्षेत्रका नागरिकलाई दिङ्ला र पूर्वी क्षेत्रका नागरिकलाई अरुण गाउँपालिकामा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिनेछ।

“अभियानअन्तर्गत आँखासम्बन्धी रोगको पहिचान र उपचारसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ,” प्रमुख तामाङले भन्नुभयो, “जिल्लाभित्र चारवटा आँखा उपचार केन्द्रलाई रेफरल सेन्टरका रूपमा तोकिएको छ। शल्यक्रिया आवश्यक परेमा पायक पर्ने स्थानमै शिविर आयोजना गरेर सेवा दिने लक्ष्य छ।”

अभियानमार्फत शिक्षक, विद्यार्थी तथा स्वास्थ्य स्वयंसेविकालाई आँखाका रोग, रोकथाम तथा बच्ने उपायबारे आवश्यक ज्ञान प्रदान गरिने लाहान आँखा तथा कान उपचार प्रणालीका कार्यक्रम संयोजक सुरक्षा पौडेलले जानकारी दिनुभयो। लक्षित वर्गको कार्यक्रम सम्पन्न भएपछि श्रमिक वर्गलाई समेत सेवा विस्तार गरिने र पूर्ण दृष्टिविहीन व्यक्तिहरूका लागि जीविकोपार्जनमा सहयोग पुग्ने सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्मनारायण चौधरीले आँखा उपचार सेवा घरदैलोमै पु¥याएर नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यसहित अभियानलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। अभियानका क्रममा जटिल शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार सेवा प्रदान गरिनेछ।

आर्थिक रूपमा अत्यन्त कमजोर नागरिकका लागि आवश्यकताअनुसार उपचार स्थलसम्म पुग्ने यातायात व्यवस्थासमेत मिलाइने जनाइएको छ। नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिक आर्थिक र भौगोलिक पहुँचको अभावमा उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा दिँदै आएको उहाँले उल्लेख गर्नुभयो। सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना भइसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखाको उपचार सेवामा पहुँच पु¥याइएको छ।

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ। यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको पनि सङ्घले जानकारी दिएको छ।

Facebook Comments Box