चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै
काठमाडौँ, १० पुस – चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्ने भएको हो। नगर प्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकाका १५ वडामध्ये वडा नम्बर १२ बाहेक सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकिएको छ।
आगामी हप्ता आयोजना हुने विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिने कार्यक्रम तय भएको छ। नगरपालिकाले ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाज निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नम्बर १४ लाई पहिलोपटक ‘बालश्रममुक्त वडा’ घोषणा गरेको थियो।
त्यसपछि चरणबद्ध रूपमा सबै वडामा कार्यक्रम सञ्चालन गर्दै लक्ष्यअगावै सम्पूर्ण वडालाई बालश्रममुक्त बनाइएको हो। नगर प्रमुख गिरीले बाल संरक्षण र बाल अधिकार सुनिश्चितताका लागि नगरपालिकाले नीति, कार्यक्रम र बजेटलाई उच्च प्राथमिकता दिएको बताउँदै भन्नुभयो, “बालश्रममुक्त वडा घोषणा कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाएकै कारण चन्द्रागिरिलाई आज ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अवस्थामा पुगेका छौँ।”
नगरपालिकाले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५), बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरपालिकाको आफ्नै कार्ययोजना अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणातर्फ अघि बढ्न प्रारम्भिक चरणमै वडाहरूलाई बालश्रममुक्त बनाइएको जानकारी दिनुभयो। उहाँले बालश्रममुक्त घोषणापछिको दिगोपन र निरन्तरताका लागि निरन्तर अनुगमन र सहकार्य आवश्यक रहेको बताउनुभयो।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार नगर कार्यपालिका, विद्यालय, बालक्लब, सरकारी कार्यालय, सङ्घसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको सहकार्यले नगरपालिकालाई बालश्रममुक्त घोषणाको चरणमा पुर्याएको हो।
शाखाका अनुसार यसअघि देशभर छवटा स्थानीय तहमात्र ‘बालश्रम मुक्त’ घोषणा भएका छन्। चन्द्रागिरिको अभियानमा बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाले सहयोग गरेका थिए। अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। तीमध्ये १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा संलग्न रहेको तथ्याङ्क छ।

