पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा, ९ पुस – चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वसमेत २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो ।

त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । साथै, पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाख मूल्यको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाख मूल्यका ६८० किलोलिटर मट्टितेल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

Facebook Comments Box