फुङलिङमा भालु नियन्त्रणमा लिन फलामे खोर राखियो : सतर्कता अपनाउन आग्रह
ताप्लेजुङ, ९ पुस – फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामे खोर राखिएको छ । केही दिनयता भालुले चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।स्थानीयका अनुसार गत सातामा भालुको आक्रमणबाट आठवटा खसीबाख्रा मरेका छन् भने तीनवटा घाइते भएका छन् ।
हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा क्षति बढेपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर जडान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको गोठ नजिकै फलामे खोर राखिएको हो ।
भालु पटक–पटक उहाँको गोठमा प्रवेश गर्दै आएकाले पुनः आउन सक्ने जोखिमलाई ध्यानमा राखी उक्त स्थानमा खोर राखिएको अध्यक्ष ओझाले बताउनुभयो । खोर जडानका क्रममा निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडा अध्यक्ष लक्षुमन गुरुङ तथा नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा पुगेको थियो ।
स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छ भने तीनवटा घाइते भएका छन् । यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा पनि भालुले खाएको थियो ।
भालुको आतङ्क बढेसँगै स्थानीयवासी घाँस, दाउरा सङ्कलन तथा अलैँची खेतीका लागि जङ्गल जानसमेत डराउन थालेका छन् । वडा अध्यक्ष लक्षुमन गुरुङले भालु नियन्त्रण नहुँदासम्म विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

