गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी, ९ पुस – म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरी खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गर्नुभएको छ । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक रूपमा सुन्तला, कागती र तरकारीखेती गर्दै आउनुभएको छ ।

गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर जैविक विषादी तयार गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उक्त विषादी सुन्तला र तरकारी बालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरिँदै आएको छ ।

“रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु,” शर्माले भन्नुभयो, “जैविक विषादीको प्रयोगले दिगो कृषि, स्वस्थ उपज उत्पादन र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।”

जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाका बोट र तरकारी बालीमा छर्कँदा मलको काम गर्नुका साथै शत्रुजीव नष्ट हुने भएकाले दोहोरो फाइदा हुने शर्माको अनुभव छ । वातावरण संरक्षणका लागि व्यावसायिक किसानले एकीकृत कृषि प्रणाली अपनाउनुपर्ने उहाँको सुझाव छ ।

रोजगारीका लागि सन् २००२ मा संयुक्त अरब इमिरेट्स (युएई) जानुभएका शर्माले १० वर्ष विदेशमा बिताएपछि सन् २०१२ मा स्वदेश फर्किएर ‘बिसम कृषि तथा पशुपालन फार्म’ स्थापना गर्नुभएको थियो । “विदेश जानुअघि रोपेका एक सय ५० वटा सुन्तलाका बोटलाई स्याहारसुसार गरेर उत्पादन दिने बनाएको छु,” उहाँले भन्नुभयो, “त्यसपछि बाँझिएको पाखोबारीमा थप तीन सय नयाँ बिरुवा रोपें ।”

यस वर्ष प्रतिकिलो रु ७० का दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाटै बिक्री गरेको शर्माले जानकारी दिनुभयो । सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीको सपना त्यागेको उहाँको भनाइ छ । स्वदेशमै उद्यम गरी सफल भएको भन्दै श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष शर्मालाई सम्मान गरेको थियो ।

यसैगरी कृषि विकास कार्यालयले गत असार र मालिका गाउँपालिकाले गत फागुनमा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको छ । शर्माले सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरीसमेत सञ्चालन गर्नुभएको छ । गत वर्ष रु ८० हजार बराबरका सुन्तलाका बिजु बिरुवा बिक्री गर्नुभएका शर्माले यस वर्ष आठ हजार नयाँ बिरुवा उत्पादन गर्नुभएको छ ।

बगैँचासम्म सडक पुगेकाले कृषि उपजको बजारीकरण सहज भएको छ भने नजिकैको पानीको स्रोतले सिँचाइ सुविधा पनि सहज बनेको छ । शर्मासँगै उहाँका छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानले पनि परम्परागत गहुँ, मकै, धान र कोदो खेती छाडेर व्यावसायिक सुन्तलाखेती सुरु गरेका छन् ।

Facebook Comments Box