एमाले अध्यक्षमा पुनः निर्वाचित ओलीको संघर्षपूर्ण राजनीतिक यात्रा

काठमाडौँ, ३ पुस – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिमा संघर्ष, जेलनेल र नेतृत्व क्षमताबाट स्थापित जुझारु नेताका रूपमा परिचित हुनुहुन्छ। अध्ययनशील, निर्णयमा दृढ र आफूलाई विश्वास गर्ने नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति संरक्षणमा उदार नेताका रूपमा उहाँको छवि स्थापित छ।

यसअघि दुई कार्यकाल पार्टी नेतृत्व गरिसक्नुभएका ओली काठमाडौंमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँले प्रतिस्पर्धी ईश्वर पोखरेललाई १ हजार ९९ मतको अन्तरले पराजित गर्नुभयो। झापा विद्रोहदेखि राजनीतिक केन्द्रसम्मको यात्रा तय गर्नुभएका ओलीले जेलनेल, भूमिगत सङ्घर्ष र राजनीतिक उतारचढाव पार गर्दै तीन पटक मुलुकको नेतृत्व गरिसक्नुभएको छ।

पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

गत मङ्सिर २७ गतेदेखि काठमाडौंमा सुरु भएको एमालेको ११औँ महाधिवेशनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस चले पनि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै पार्टीको नेतृत्व सुम्पेका छन्। विघटित प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रूपमा रहेको एमालेले जेनजी आन्दोलनपछिका विकसित राजनीतिक घटनाक्रमबीच पार्टी र देशलाई नेतृत्व गर्ने चुनौती ओलीसामु रहेको छ।

ओली पहिलो पटक विसं २०७१ साउन १ गते काठमाडौंमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्ष निर्वाचित हुनुभएको थियो। त्यसपछि २०७८ मङ्सिरमा चितवनमा सम्पन्न दसौँ महाधिवेशनबाट पुनः अध्यक्ष चयन हुनुभएको हो।

समृद्धि, विकास र राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्ने नेताका रूपमा चिनिनुहुने ओली आत्मविश्वासी र अडिग नेताका रूपमा परिचित हुनुहुन्छ। वर्तमान संविधान जारी भएपछि २०७२ असोज २४ गते उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो। त्यसपछि २०७४ फागुन ३ गते तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाइ बहुमतसहित दोस्रो पटक सरकारको नेतृत्व गर्नुभयो।

विसं २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि उहाँ पहिलो वरियताको अध्यक्ष बन्नुभयो। पार्टीभित्रको विवाद र संसद् विघटनसम्बन्धी निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि उहाँ सरकारबाट बाहिरिनुभयो।

पूर्वप्रधानमन्त्री ओलीको जन्म विसं २००८ फागुन ११ गते तेह्रथुमको आठराईस्थित इवा गाउँमा सामान्य किसान परिवारमा भएको हो। चार वर्षको उमेरमै आमाको निधन भएपछि हजुरआमा रमादेवी ओलीको संरक्षणमा हुर्कनुभएका उहाँ बाल्यकालमा पढाइसँगै ग्रामीण जीवनका सबै काममा संलग्न हुनुहुन्थ्यो। २०२० सालमा परिवारसहित झापा बसाइँ सरेपछि उहाँको राजनीतिक चेतना झन प्रखर हुँदै गयो।

किशोर अवस्थामै समाजमा विद्यमान असमानता, विभेद र अन्यायप्रति प्रश्न उठाउन थाल्नुभएका ओलीको राजनीतिक यात्रा झापा आन्दोलन र कठोर भूमिगत संघर्षबाट सुरु भएको हो। राजतन्त्रात्मक पञ्चायती व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा उहाँ सदैव अग्रपंक्तिमा रहनुभयो।

१५ वर्षको उमेरमै २०२३ सालमा रामनाथ दाहालको नेतृत्वमा रहेको माक्र्सवादी अध्ययन दलमा आबद्ध हुनुभएका ओली २०२६ माघमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो। सोही वर्ष पहिलो पटक पञ्चायती शासनद्वारा गिरफ्तार पर्नुभएको उहाँ २०३० सालमा झापा आन्दोलनका क्रममा पुनः पक्राउ पर्नुभयो। त्यसपछि चार वर्ष गोलघरको यातनासहित करिब १४ वर्ष लामो कारावास जीवन बिताउनुभयो।

कारावासकै क्रममा २०३५ सालमा गठन भएको नेकपा (माले)का संस्थापक रहनुभएका ओली २०४४ सालमा जेलमुक्त भएपछि केन्द्रीय सदस्य बन्नुभयो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको उहाँ २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक अध्यक्ष बन्नुभयो।

२०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकीकरण भई नेकपा (एमाले) गठन हुँदा ओली केन्द्रीय सदस्य हुनुभयो। बहुदलीय व्यवस्थापछि २०४८ सालको आम निर्वाचनमा झापा–६ र २०५१ सालको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो।

पार्टीभित्र पोलिटब्यूरो सदस्य, विदेश विभाग, प्रचार विभाग तथा संसदीय विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका ओली उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री तथा गृहमन्त्रीसमेत बन्नुभएको छ। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलो पटक गृहमन्त्री बन्नुभएको थियो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई मूल मन्त्र बनाएर अघि बढिरहेका अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेताका रूपमा आज पनि नेपाली राजनीतिमा सक्रिय रहनुभएको छ।

Facebook Comments Box