धान्द्रुके बाजेलाई ८३ वर्षको उमेरमा नागरिकता
बागलुङ, ३ पुस – बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका ८३ वर्षीय एक वृद्धले ८३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ। उहाँ लामो समयदेखि ‘धान्द्रुके बाजे’ उपनामले चिनिँदै आउनुभएको थियो।
राष्ट्रिय समाचार समितिमा विसं २०८१ फागुन २ गते प्रकाशित ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकको समाचारपछि उहाँ नागरिकताबाट वञ्चित रहनुभएको विषय सार्वजनिक भएको थियो। सोही समाचारपछि बागलुङ नगरपालिकाको पहलमा कार्यपालिकाबाट निर्णय गराई नागरिकता दिलाउन सफल भएको हो।
नाम र जन्मस्थान टुङ्गो नलागेका उहाँ बोल्न नसक्ने तथा परिवारसमेत सम्पर्कमा नआएकाले लामो समयदेखि पहिचानविहीन रहनुभएको थियो। नागरिकता नहुँदा उहाँ राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा सुविधाबाट समेत वञ्चित हुनुहुन्थ्यो।नागरिकता प्राप्त गरेसँगै उहाँले पहिलोपटक रु आठ हजार वृद्धभत्ता पनि पाउनुभएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ।
नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार कार्यपालिकाको निर्णयपछि संरक्षक तोकी जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता उपलब्ध गराइएको हो। “सानै उमेरमा भकुण्डे आइपुग्नुभएका उहाँ बोल्न नसक्ने भएकाले गाउँलेले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका थिए,” उपप्रमुख खड्काले भन्नुभयो, “हाल नरमाया थापाको घरमा बस्दै आउनुभएकाले उहाँकै संरक्षकत्वमा नागरिकता जारी गरिएको हो।”
बाँसका सामग्री बनाउँदै जीविकोपार्जन गर्दै आउनुभएका उहाँलाई जीवनको उत्तरार्धमा चन्द्रबहादुर थापा नामकरण गरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

