चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ, १ पुस – मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको मादी नदी पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी निर्माण भइरहेको पुलमा हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

उक्त खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार अब करिब २६ प्रतिशत काम मात्र बाँकी छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माणको ठेक्काको म्याद गत भदौ २१ गते सकिएपछि आगामी असार १९ गतेसम्म थप गरिएको हो ।

पुल निर्माणका लागि २०७९ साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सूचना अधिकारी पाण्डेले भन्नुभयो, “म्याद थप भए पनि निर्धारित समयभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।” पुलमा हालसम्म करिब ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

तीन सय १५ मिटर लम्बाइको पुलमा छ वटा स्पान रहनेछन् । पुलको दुवै किनारामा दुई–दुईवटा ‘प्रिस्टे«स्ड बक्स गर्डर’ स्पानको काम सम्पन्न भइसकेको छ । फाउन्डेसनदेखि सुपर स्ट्रक्चरसम्मको निर्माण सकिएको र बीचका दुई स्पान भने ‘कङ्क्रिट नेचर आर्क ब्रिज’ संरचनामा निर्माण भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

रु एक अर्ब २१ करोड (भ्याटसहित) लागतमा निर्माण भइरहेको २३ मिटर चौडाइको यो पुल एउटै मोनोलेथिक संरचनामा बनेको नेपालकै पहिलो पुल भएको उहाँले बताउनुभयो । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा समग्रमा ८८ प्रतिशत प्रगति भएको छ । कालोपत्रे कार्य सम्पन्न भइसकेको र सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको पाण्डेले जानकारी दिनुभयो । पुलको पहुँचमार्ग निर्माण भने हालै सुरु भएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक दिनेशकुमार श्रेष्ठका अनुसार पुल निर्माणको काम निर्धारित म्यादभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “असार १९ गतेसम्म म्याद भए पनि वैशाखमै काम सक्ने गरी अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो । पुल निर्माणमा हाल दैनिक करिब १५० जना कामदार खटाइएका छन् ।

छ वटा स्पानमध्ये चारवटाको काम सकिएको र बीचका दुई स्पान (६३ मिटर) निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो । पुलको दायाँबायाँ करिब पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी छ । बायाँतर्फ निजी घर रहेकाले मुआब्जा वितरण गर्नुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन भत्काएर सडक विस्तार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको यो पुल चार लेनको हुनेछ । हाल सञ्चालनमा रहेको दुई लेनको पुल ३७० मिटर लामो छ । सोही पुलबाट करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

Facebook Comments Box