विदेशमा पढ्नका लागि चार महिनामै ४२ अर्ब ९६ करोड बाहिरियो
काठमाडौँ, १ पुस – देशभित्र विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्चालनमा रहे पनि उच्च शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो । यसअनुसार चालु आर्थिक वर्षको चार महिनामै करिब रु १० अर्ब बढी रकम शैक्षिक प्रयोजनका लागि देशबाट बाहिरिएको देखिन्छ । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो ।
यस्तै, सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोड घाटामा रहेको थियो ।

