चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
काठमाडौँ, २९ मङ्सिर – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी २२ वटा घटना आगलागीसँग सम्बन्धित रहेका छन् ।
प्राधिकरणका विवरणअनुसार कतै डढेलो त कतै भान्सामा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर आगलागी भएको छ । विद्युत् सर्ट, असावधानी तथा जनचेतनाको अभावका कारण पनि आगलागीका घटना भएका उल्लेख छ । रौतहटमा तीन स्थानमा आगलागी भएको छ भने पाँचथर, झापा, कास्की र स्याङजामा दुई–दुई स्थानमा आगलागीका घटना भएका छन् ।
त्यसैगरी मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, रुपन्देही, दाङ, अछाम र दार्चुलामा एक–एक स्थानमा आगलागी भएको छ । हिउँद याममा आगो ताप्ने क्रममा, सलाइको काटी खेलाउँदा तथा धानको कुन्युमा केटाकेटी खेल्दा समेत आगलागी भएको पाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित पुरानो दक्षिणकाली जंगलमा लागेको डढेलो इलाका प्रहरी कार्यालय फर्पिङको टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यस अवधिमा पाल्पामा पहिरोको घटना पनि भएको छ ।
यस्तै, मोरङका दुई स्थानमा जङ्गली हात्तीको आक्रमणका घटना भएका छन् । तीमध्ये सुन्दरहरैचा नगरपालिका–१२ मा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । समग्र विपद्जन्य घटनामा एक जनाको निधन भएको र चार जना घाइते भएका प्राधिकरणले जनाएको छ । विपद्जन्य घटनाका कारण कूल रु ७२ लाख ९०० बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

