निर्वाचन आउन ८६ दिन बाँकी रहँदा समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, २३ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली व्यवस्थापनका लागि निर्वाचन आयोगले सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगको भवन परिसरमै स्थापना गरिएको कार्यालयको उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले मङ्सिर १२ गते गरेको निर्णयअनुसार आयोगका सचिव महादेव पन्थ समानुपातिकतर्फका निर्वाचन अधिकृत तोकिएका छन्। सहायक निर्वाचन अधिकृतमा सहसचिव यज्ञप्रसाद भट्टराई जिम्मेवार बनाइएका छन्। उक्त कार्यालयमा कूल ४१ जना कर्मचारी खटिनेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत ११० सदस्य निर्वाचित हुने व्यवस्था छ।
उद्घाटन समारोहमा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र गुन शम्शेर जबरा सहित आयोगका कर्मचारी सहभागी भएका थिए। कार्यक्रममा आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सम्पूर्ण काम यसै कार्यालयमार्फत हुने भएकाले सरोकारवालाको सहकार्य सहज हुने विश्वास व्यक्त गर्नुभयाे।
उहाँले विधि–प्रतिबद्ध सूत्रीय पद्धति अनुसार जातीय, भौगोलिक र लैङ्गिक समूहको प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयको सहयोग लिइने बताउनुभयो। यसै दिन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले आयोगसँग आगामी चुनावका तयारीबारे छलफल गर्नुभयो।
छलफलमा अर्थमन्त्रीले बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो भने कानुनमन्त्रीले आवश्यक कानुनी सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। मन्त्री सिन्हाले निर्वाचन प्रक्रियामा स्वदेशी सामग्री र उत्पादनलाई प्राथमिकता दिन अनुरोध पनि गर्नुभयो। प्रवक्ता भट्टराईका अनुसार यी छलफलहरूले प्रतिनिधिसभा तथा राष्ट्रियसभा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न थप मद्दत पुग्ने विश्वास आयोगले लिएको छ।

