तिला जलविद्युत् निर्माणमा सात अर्बभन्दा बढी लागत लाग्ने

जुम्ला, २० मंसिर – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गर्न करिब सात अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने भएको छ।

तिला गाउँपालिका–१ र ७ तथा तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको छ। आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिए। तिला नदीमा प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको र डिजाइन डिस्चार्ज ५२.५१ घनमिटर प्रति सेकेन्ड रहेको उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले २०७८ सालमा आयोजनाको नापजाँच स्वीकृत गरिसकेको थियो। आयोजना सञ्चालनबाट रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहायता तथा स्थानीय व्यापार–व्यवसाय बढ्ने भएकाले स्थानीयदेखि राष्ट्रिय तहसम्म प्रत्यक्ष लाभ पुग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए।

उत्पादन हुने बिजुली १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेशनमा जोडिनेछ। विद्युत् गृहबाट निष्कासित पानी २५ मिटर लामो टेलरेस टनेलमार्फत पुनः तिला नदीमै प्रवाह गरिने छ। आयोजनाका संरचना नदीको बायाँ किनारमा रहनेछन्।

नेपाल सरकारको तर्फबाट परियोजनामा कुल लागत रु ७ अर्ब ५६ करोड ७४ लाख रहने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए। उनका अनुसार ३०.२० किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरिने छ।

आयोजनाका लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा समावेश छन्। स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइने र निर्माण अवधिभर व्यापार–व्यवसायबाट आयआर्जन बढ्ने अपेक्षा गरिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए।

आयोजनाबाट ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। प्रत्यक्ष प्रभावित घरधुरीको सूचि सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको आयोजनाले जनाएको छ। अध्ययन चरण पूरा भएपछि निर्माण कार्य अघि बढाइनेछ।

Facebook Comments Box