निर्वाचन काउण्टडाउन ९० : प्रतिनिधिसभा निर्वाचनका लागि आयोग पूर्ण तयारीमा – कार्यबाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, २० मङ्सिर — निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारी अवस्थामा रहेको स्पष्ट गर्नुभएको छ।
चुनावको दिन आउन ९० दिन बाँकी रहँदा आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै उहाँले नेपाल सरकारले आयोगको मागअनुसार आवश्यक व्यवस्थापकीय तयारी पूरा गरिदिएपछि निर्वाचनको वातावरण थप सुनिश्चित बन्दै गएको बताउनुभयो। आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसारका गतिविधि सहज गतिमा अघि बढिरहेको उहाँको भनाइ थियो।
भण्डारीका अनुसार आजै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वपक्षीय छलफलमा पनि आयोगले चुनावका लागि आफ्नो पूर्ण तत्परता प्रस्तुत गरेको छ। “बजेटका केही पक्षमा अपर्याप्तता थियो, तर अर्थ मन्त्रालयले आवश्यकताअनुसार थप रकम निकासा गर्ने प्रतिबद्धता जनाइसकेको छ,” भण्डारीले भन्नुभयो, “अब आयोग नियमित कार्यक्रमअनुसार अघि बढ्छ, यो कुरा हामीले सरकार, दल र सुरक्षा निकायलाई स्पष्ट गरेका छौँ।”
आयोगले निर्वाचन सञ्चालनका लागि करिब सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले पाँच अर्ब ९६ करोड रुपैयाँको स्रोत उपलब्ध गराइसकेको छ। यसैबीच, आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावमा सहभागी हुन इच्छुक राजनीतिक दललाई आवेदन दिन आह्वान गरेको छ। यसअघिदेखि मङ्सिर १४ सम्म १२० राजनीतिक दलले निर्वाचनमा सहभागी हुने निवेदन आयोगमा दर्ता गराइसकेका छन्।
राससले आफ्नो नियमित बुलेटिनमा ‘निर्वाचन काउण्टडाउन’ सामग्रीलाई प्राथमिकता दिन थालेको विषयमा आभार व्यक्त गर्दै भण्डारीले चुनावमय वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

