निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको जिम्मा सरकारले लिनुपर्छ : कांग्रेस
काठमाडौँ, मंसिर १९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा देखिन सक्ने सुरक्षा चुनौती तथा जोखिमको जिम्मा सरकारले नै वहन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले स्पष्ट धारणा व्यक्त गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी थिए। बैठकपछि नेतृ भुसालले आफ्नो पार्टीले कुनै पनि प्रकारको सुरक्षा ‘थ्रेट’ स्वीकार्य नहुने र त्यस्तो अवस्था उत्पन्न भए सरकारले नै जिम्मा लिनुपर्ने धारणा राखेको बताइन्।
“कुनै पनि किसिमको थ्रेट स्वीकार्य छैन। यदि त्यस्तो भयो भने यसको पूर्ण जिम्मेवारी सरकारकै हुनेछ, भन्ने कुरा हाम्रो तर्फबाट स्पष्ट रूपमा राख्यौँ,” नेतृ भुसालले बैठकपछि भनिन्।
उनका अनुसार कांग्रेसले वर्तमान सरकारलाई निर्धारित मितिमा निर्वाचन नगर्ने कुनै पनि छुट नभएको पनि बैठकमा स्मरण गराएको छ। “यो सरकारलाई फागुन २१ गतेको निर्वाचन नगराउने छुट छैन,” उनले भनिन्।
भुसालका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले पनि बैठकमा सरकार निर्वाचन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी थिइन्। “चुनौतीलाई सामना गर्न हामी तयार छौँ भन्ने सरकारी पक्षको धारणा प्रधानमन्त्रीले व्यक्त गर्नुभयो,” भुसालले बताइन्।

