हिउँदमा वर्षा कम, तापक्रम भने बढ्ने
काठमाडौँ, १८ मङ्सिर = चालू वर्षको हिउँद (मङ्सिर १५ देखि फागुन १६) अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुधबार सार्वजनिक गरेको मौसमी आकलनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उत्तरी–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर बराबर वा सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना देखिएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमको पूर्वी–दक्षिणी भूभाग, कर्णालीको दक्षिणतर्फ, लुम्बिनीको पश्चिमतर्फ, बाग्मतीको दक्षिण, मधेसको उत्तर तथा कोशी प्रदेशको मध्य–पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५–६५ प्रतिशत छ।
त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५–५५ प्रतिशत छ। बाँकी भूभागमा यो सम्भावना ३५–४५ प्रतिशत रहेको विभागले जनाएको छ।
अधिकतम तापक्रम बढ्ने
विभागका अनुसार यस हिउँदमा देशका धेरै स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहनेछ। गण्डकी प्रदेशका उत्तर–दक्षिणी भाग, बाग्मतीको दक्षिण तथा कोशी प्रदेशका उत्तर र दक्षिण–पश्चिम क्षेत्रमा अधिकतम तापक्रम बढ्ने सम्भावना ५५–६५ प्रतिशत छ।
कर्णालीका उत्तरी, लुम्बिनीका उत्तरी तथा कोशी, बाग्मती र गण्डकीका अन्य भूभागमा यो सम्भावना ४४–५५ प्रतिशत दरमा रहनेछ। सुदूरपश्चिम, कर्णालीको दक्षिण–पश्चिम तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम बढ्ने सम्भावना ३५–४५ प्रतिशत छ। लुम्बिनीका दक्षिणी तथा मधेस प्रदेशका भूभागमा अधिकतम तापक्रम कम, सरदर वा बढी—तीनवटै सम्भावना समान रहेको विभागले जनाएको छ।
न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी
देशभर न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने उच्च सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिमका उत्तर तथा दक्षिण–पश्चिम, कर्णालीका मध्य–उत्तरी, लुम्बिनीका अधिकांश, बाग्मतीका उत्तर–पूर्व तथा दक्षिण–पश्चिम, मधेसका अधिकांश र कोशी प्रदेशका दक्षिण तथा उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५–६५ प्रतिशत छ। बाँकी भूभागमा यो सम्भावना ३५–५५ प्रतिशत रहेको उल्लेख छ।

