धार्मिक पर्यटकका लागि शालग्राम सङ्ग्रहालय आकर्षक गन्तव्य
बागलुङ, १७ मङ्सिर – बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालय पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। मानव–निर्मित १०० मिटर लामो सुरुङभित्र करिब सवा एक लाख शालग्राम शिला एकै ठाउँमा दर्शन गर्न सकिने विशेषताकै कारण यहाँ आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ।
विशेषतः मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकहरू यो स्थान अवश्य भिजिट गर्ने गर्छन्। हाल औसतमा दैनिक ३०० जना पर्यटक सङ्ग्रहालय घुम्न आउने गरेका छन्। सार्वजनिक बिदाको दिन यो संख्या एक हजारभन्दा बढी पुग्ने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिए।
उहाँका अनुसार पछिल्ला चार महिनामात्रै २५ हजारभन्दा बढीले सङ्ग्रहालय अवलोकन गरेका छन्। पाँच वर्षअघि सर्वसाधारणका लागि खुलेको यो सङ्ग्रहालयमा गत वर्ष करिब दुई लाख पर्यटक पुगेका थिए। त्रिशूल आकारमा बनाइएको सुरुङभित्र दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सा र विभिन्न मठ–मन्दिरका आकृति पनि राखिएका छन्।
सङ्ग्रहालयमा ३०० किलोसम्म तौल भएका ठूलो आकारका शालग्राम समेत प्रदर्शन गरिएको छ। प्रपन्नचार्यका अनुसार, सुरुमा खासै पर्यटक नआए पनि हाल नेपाली तथा भारतीय दुवै क्षेत्रमा आकर्षण बढ्दै गएको छ। पश्चिम नवलपरासीकी एलिना खनाल मुक्तिनाथ दर्शनबाट फर्कने क्रममा यहाँ पुगेकी थिइन्।
“यति धेरै शालग्राम एकै ठाउँमा देख्न पाउँदा धेरै खुसी लाग्यो,” उनी भन्छिन्, “कालीगण्डकीमा शालग्राम पाइने क्रम घट्दै जाँदा, यहाँ व्यवस्थित रूपमा संरक्षण गरिएको देख्दा अचम्म पनि लाग्यो।” चितवनबाट आएका टीकाराम पाठकले पारिवारिक भ्रमणका क्रममा सङ्ग्रहालय अवलोकन गरेको बताए।
दामोदरकुण्डदेखि त्रिवेणीधामसम्म फैलिएको धार्मिक भू–भागको नमूना नक्साले आफूलाई विशेष आकर्षित गरेको उनले बताए। शालग्राम सङ्ग्रहालय परिसरमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरसहितका अन्य धार्मिक संरचनाले पनि धार्मिक पर्यटकलाई थप आकर्षित गर्दै आएका छन्।

