कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव, १९ पटक विज्ञापन गर्दा पनि दरबन्दी खाली

मान्म (कालीकोट), १६ मंसिर – कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको गम्भीर अभाव देखिएको छ। विशेषगरी गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक पाउन कठिनाईले विद्यालयहरूको शैक्षिक सञ्‍चालन प्रभावित भइरहेकाे स्थानीय तहहरूले जनाएका छन्।

नरहरिनाथ गाउँपालिका–७ मा रहेको रूपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि १९ पटक विज्ञापन गरे पनि हालसम्म योग्य शिक्षक नपाएको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए। गत वर्ष सङ्घीय अनुदानअन्तर्गत प्राप्त गणित दरबन्दी पूर्ति गर्न विद्यालयले निरन्तर विज्ञापन गरिरहेको भए पनि अध्यापन अनुमतिपत्र (लाइसेन्स) सहितको दर्खास्त एकपटक पनि नपरेको उहाँको भनाइ छ।

“गणित विषय शिक्षक पाउनै कठिन भएको छ,” प्रधानाध्यापक बुढाले भने, “सोमबार आवेदन दिने अन्तिम दिन हो, तर अहिलेसम्म पनि कुनै दर्खास्त परेको छैन।” वैशाखयता हरेक १५ दिनको फरकमा १८ पटक विज्ञापन प्रकाशित गरिए पनि परिणाम शून्य नै रहेको विद्यालयले जनाएको छ।

बालविकासदेखि कक्षा १० सम्म ३७५ जना विद्यार्थी अध्ययनरत रूपादेवी विद्यालयमा तीन जना मात्र स्थायी शिक्षक छन्। बाँकी १३ जनालाई पालिका अनुदान र निजी स्रोतबाट व्यवस्थापन गरिएको हो।

यस्तै, शुभकालिका गाउँपालिकाका विद्यालयहरूमा पनि परिस्थिती उस्तै रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले जानकारी दिए। उनले दाहाल मावि सुकाटिया तथा वडा १ को जनता माध्यमिक विद्यालय छातीमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका सङ्घीय अनुदानका दरबन्दी भएका शिक्षक नपाइएकाे बताए।

“स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक विद्यालयलाई सङ्घीय तर्फबाट तीन विषयका शिक्षकको व्यवस्था गर्ने निर्णय छ,” आचार्यले भने, “प्रतिव्यक्ति रु ४३ हजार ६८९ तलब दिने सरकारी नीति भए पनि यहाँ शिक्षक पाउनै गाह्रो छ।”

पलाता गाउँपालिकाले समेत गत वर्ष स्वयं विज्ञापन गरे पनि विषयगत शिक्षकका दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ, कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए। उनका अनुसार कालीकोटका सबै नौ स्थानीय तहमा गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको अभाव साझा समस्या बनेको छ।

Facebook Comments Box