तरकारीखेतीले बदलिँदै लेखानी गाउँको जीवनशैली
बागलुङ, ७ मङ्सिर – बसाइँसराइ बढ्दै जाँदा गाउँका घर खाली हुँदै गएका छन्, खेतबारी वनमाराले ढाकिँदै छन्। तर काठेखोला गाउँपालिका–८ लेखानीका बासिन्दा भने अझै पनि खेतीपातीमै व्यस्त छन्। बिहानदेखि साँझसम्म उनीहरू बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायतका तरकारी उत्पादन गर्छन् र यही बेचेर आफ्नो दैनिकी चलाउँछन्। बागलुङ सदरमुकाम नजिक भएकाले यहाँको कृषि गतिविधि सहज मानिन्छ।
यद्यपि विकासका हिसाबले सुगम भए पनि धेरै युवाको रोजाइ शहर वा विदेश बनेको छ। गाउँमै बस्ने करिब १०० परिवार भने व्यावसायिक तरकारीखेतीमा आबद्ध छन्। धान, गहुँ, मकैजस्ता अन्नबाली उत्पादन गर्न धेरै श्रम र खर्च लाग्ने भएकाले पछिल्लो समय किसान तरकारीतर्फ आकर्षित हुँदै आएका छन्।
तरकारीखेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने उदाहरण स्थापित भएपछि छिमेकी गाउँलेहरू पनि लेखानीका किसानबाट सिक्न थालेका छन्। पहिले बजारमा गएर तरकारी किनेर ल्याउने स्थानीयहरू अहिले हजारौँ किलो तरकारी बजार पठाउने अवस्थामा पुगेका छन्।
यसले स्थानीयको जीवनस्तर उल्लेख्य रूपमा सुधारिएको किसान लीलाधर कँडेल बताउँछन्। कँडेल भन्छन्, “पहिले विदेश जान नपाउँदा निराशा लाग्थ्यो, तर अहिले गाउँमै तरकारीखेती गरेर खुसी छौँ। कसैलाई भोकै बस्नुपरेको छैन, राम्रै खान–लाउन पाएका छौँ।”
सहजीकरणसँगै आकर्षण बढ्दै
स्थानीय पालिका र विभिन्न सङ्घ–संस्थाले किसानलाई प्राविधिक सहयोग, अनुदान र तालिम प्रदान गर्दै आएका छन्। गाउँभरि देखिने प्लास्टिक टनेलहरू व्यावसायिक खेतीतर्फको रूपान्तरणको सूचक बनेका छन्। दुई वर्षअघि ‘गाजा फाउन्डेसन’ ले ५० परिवारलाई तालिम र आधारभूत सामग्री सहयोग गरेपछि गाउँमा तरकारीखेती गर्नेको संख्यामा झनै वृद्धि भएको हो।
स्थानीय लक्ष्मी कँडेलका अनुसार तरकारी बेच्न थालेपछि परिवारको आर्थिक अवस्था उल्लेख्य रूपमा सुधारिएको छ। बजार नजिक भएकाले बिक्रीमा समस्या छैन र दैनिक यातायात सहज भएकाले उत्पादन ढुवानी पनि सजिलो भएको बताइन्। सुरुमा एउटै बारीमा गरेको खेती अहिले तीन बारीमा विस्तार गरिएको छ।
किसानहरू व्यावसायिक बन्दै
एक दशकदेखि तरकारीखेती गर्दै आएका किसान लीलप्रसाद कँडेलले पछिल्ला वर्षमा खेती विस्तार गरेपछि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरेको बताए। पहिले गाउँमै तरकारी किनबेचको खास चलन नभए पनि अहिले किसानहरू व्यावसायिक बन्दै गएको उनको भनाइ छ।
गाउँमै बसेर मेहनत गर्दा राम्रो आम्दानी र स्थिर आय प्राप्त हुने उदाहरण लेखानीले देखाएको छ। बाहिरबाट सस्तो तरकारी आयात हुँदा कहिलेकाहीँ मूल्यप्रतिस्पर्धा झेल्नुपरे पनि स्थानीय किसान राज्यले बजार संरक्षण गर्न सके अझ राम्रो आम्दानी हुने विश्वास राख्छन्।

