बेनी अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा बन्द, चार जिल्लाका गर्भवती मारमा

म्याग्दी, ७ मङ्सिर – प्रदेश सरकारले समयमा चिकित्सकको व्यवस्थापन गर्न नसक्दा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ अभाव भएको छ। विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा हालदेखि बन्द भएको छ।

अस्पतालका अनुसार म्याग्दी, मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका गर्भवतीसहित वर्षेनि १२०–१५० महिलाले बेनीमै शल्यक्रियाबाट प्रसूति गराउँदै आएका थिए। तर कात्तिकमा कार्यरत चिकित्सकले राजीनामा दिएसँगै अब गर्भवतीलाई बागलुङ वा पोखरा जानुपर्ने अवस्था बनेको छ।

अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले प्रसूति पीडामा परेकालाई जिल्लाबाहिर लैजान बाध्य हुनुपरेको गुनासो गर्दै भने, “विशेषज्ञ नभएकाले अस्पतालले रिफर गरेपछि समय र खर्च दुवै बढेको छ।” केही वर्षअघि धवलागिरि अस्पताल बागलुङ र पर्वत अस्पतालले समेत पोखरा रिफर गरेको एक गर्भवतीको बेनीमै सफल शल्यक्रिया गरिएको थियो।

तर हाल विशेषज्ञ नहुँदा सेवा सञ्चालन असम्भव भएको अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाले बताए। उनका अनुसार, “विज्ञापन गर्दा पनि कोही आएनन्। समस्याबारे प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छौं, तर अहिलेसम्म चिकित्सक पठाइएको छैन।”

निक साइमन इन्स्टिच्युटको सहयोगमा २०७१ सालदेखि सुरु भएको सी–सेक्शन सेवा दाताको कार्यक्रम सकिएपछि प्रदेश सरकारले निरन्तरता दिँदै आएको थियो। तर जनशक्ति अभावका कारण हाल हाडजोर्नी र नशारोग बाहेक सबै प्रकारका शल्यक्रिया सेवा पनि बन्द छन्। गत भदौदेखि गण्डकी प्रदेश मातहतका अस्पतालहरू व्यवस्थापन समिति नभई नेतृत्वविहीन बनेका छन्, जसले अस्पताल सञ्चालनमा थप समस्या बढाएको छ।

गण्डकी प्रदेशका सबै ११ जिल्लामा अस्पताल व्यवस्थापन समिति रिक्त रहेको बताउँदै प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले कात्तिक तेस्रो साता बसेको प्रदेशसभा बैठकमा समस्या औंल्याएका थिए। उनले भने, “मैले स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई फोनमार्फत जानकारी गराएँ। उहाँले एक हप्ताभित्र समाधान गर्ने आश्वासन दिए।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नैपर्छ।” बेनी अस्पतालले अन्तरङ्ग–बहिरङ्ग सेवा, हाडजोर्नी, दन्त, आँखा, बालरोग, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा तथा डायलाइसिससहित वर्षेनि ६० हजारभन्दा बढीलाई सेवा दिँदै आएको छ।

Facebook Comments Box