एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा एभेन्जर्स पराजित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो।

सुदूरपश्चिमले जितका लागि दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेट गुमाउँदै १७५ रन मात्रै बनाउन सक्यो। यससँगै पोखराले लगातार दोस्रो हार बेहोर्नुपरेको छ र टोली अंक तालिकाको पुछारमा झरेको छ।

पोखराका कप्तान कुशल भुर्तेलले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रन बनाउँदै टोलीका लागि सर्वाधिक योगदान दिए। उनी स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए।

जिम्मी निसमले २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४७ रन जोडे तर दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए। डान डाउथवेटले पनि १६ बलमा पाँच छक्का र एक चौकासहित ३७ रन थपे। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।

सुदूरपश्चिमका हरमित सिंहले उत्कृष्ट गेंदबाजी गर्दै २२ रन खर्चेर दुई विकेट लिए। स्कट कुग्लेजिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनास बोहरा र नरेन साउँदले एक–एक विकेट हात पारे।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो। ओपनर जस ब्राउन र विनोद भण्डारीले पहिलो विकेटका लागि १०.४ ओभरमा १०८ रनको महत्वपूर्ण साझेदारी गरे।

जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्कासहित ६८ रन बनाए। उनी जिम्मी निसमको बलमा किरण ठगुन्नाले क्याच लिएपछि आउट भए। विनोद भण्डारीले ४२ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए र आकाश चन्दको बलमा कुशल भुर्तेलले क्याच आउट गरे।

क्रिस लिनले १३ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३१ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले १५, स्कट कुग्लेजिनले ८ र हरमित सिंहले ४ रन बनाए। आरिफ शेख शून्यमा आउट भए भने इशान पाण्डे ६ र नरेन साउँद ४ रनमा अविजित रहे।

पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए, जबकि डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट हात पारे। शनिबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् भने दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ।

Facebook Comments Box