मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक चार घण्टा बन्द

काठमाडौँ, २ मङ्सिरः मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्डको सडक स्तरोन्नतिको कामका लागि आजदेखि १० दिनसम्म दैनिक चार घण्टा सडक बन्द गरिने भएको छ। योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार सडक दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र मध्याह्न १२ बजेदेखि २ बजेसम्म पूर्ण वा आंशिक रूपमा बन्द गरेर निर्माणको काम अघि बढाइनेछ।

हाल तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिमा पुल निर्माण भइरहेको छ।

यस दौरान दुई पाङ्ग्रे र साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोक हुँदै बेल चौतारा मार्गबाट आवतजावत गर्न सक्नेछन्। ठूला सवारीसाधनका लागि भने पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा हुँदै पोखरा पुग्ने वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।

Facebook Comments Box