फरार कैदीबन्दी पक्राउ
काठमाडौँ, २ मङ्सिर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिउ मास्ने बेच्ने तथा सुन भन्सार चोरी–पैठारीसम्बन्धी मुद्दामा फरार रहेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ। गत भदौ २४ गतेको आन्दोलनको क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएकी धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गीता लामा जिउ मास्ने बेच्ने मुद्दामा दोषी ठहर भई २२ वर्ष कैद सजाय काटिरहेको अवस्थामा २०७६ मङ्सिर १९ गतेदेखि सुन्धारास्थित महिला बन्दीगृहमा कैद भुक्तान गर्दै आएकी थिइन्। त्यसैगरी, सुन भन्सार चोरी–पैठारी प्रकरणमा एक वर्ष कैद सजाय र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना तोकिएका मङ्गलनारायण महर्जनलाई पनि पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार लामालाई ललितपुर महानगरपालिका–३, धोबीघाटबाट र महर्जनलाई काठमाडौँको धोवीचौरबाट पक्राउ गरी पुनः कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको छ।

