घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागर
ताप्लेजुङ, ३० कात्तिक – फक्ताङलुङ गाउँपालिका–६ का हिमाली बस्ती घुन्सा र फलेटारमा गरिएको स्याउखेती परीक्षण सफल बनेपछि स्थानीयवासी उत्साहित बनेका छन्। स्थानीय किसान तथा विभिन्न संस्थाहरूले परीक्षणस्वरूप रोपेका स्याउ बिरुवाले राम्रो फल दिँदा यहाँ व्यावसायिक स्याउखेतीको नयाँ ढोका खुलेको छ।
कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वार नजिक रहेका फले र घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरुवा रोपिएको थियो। रोपेको करिब छ महिनामै स्याउ उत्पादन सुरु भएपछि ताप्लेजुङ मात्र नभई पूर्वी हिमाली क्षेत्रका किसानका लागि पनि स्याउखेतीको ठूलो सम्भावना देखिएको छ।
फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आए पनि घुन्सामा पहिलोपटक गरिएको परीक्षण विशेष सफल भएको बताइन्छ। मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवा रोपिएका थिए। पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारीमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रफलमा नमूना बगैँचा विस्तार गरिएको हो। पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउसँगै अन्य कृषि उपज उत्पादनमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउने हो।
घुन्साका नुपुडुण्डुक शेर्पा आफ्नै स्याउ बगैँचा विस्तार गर्ने तयारीमा छन्। “हामीले फले र घुन्सामा रोपिएको स्याउ खायौँ, स्वादिलो फल फल्यो, अब घुन्सामा व्यावसायिक रूपमा स्याउखेती गर्छौँ,” उनले बताए। सफल परीक्षणले स्थानीयमा आम्दानी बढ्ने अपेक्षा समेत बढाएको छ।
घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस (भाले) र १० गाला (भाले) प्रजातिका बिरुवा रोपिएका छन्। जैविक विविधता कायम राख्न बगैँचामा मौरीपालन र कुखुरापालनलाई पनि प्रोत्साहन गरिएको छ, जसले परागसेचन र माटो उर्वरता दुवैमा सहयोग पुर्याइरहेको छ।
स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो नमुना स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो। त्यसैगरी, उत्पादन भएको स्याउको गुणस्तर परीक्षणमा पनि उत्कृष्ट नतिजा आएको छ। स्वीट्जरल्याण्डबाट आएका विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सबै प्रजातिमा सकारात्मक परिणाम प्राप्त भएको हो।
पुतली सहयोग कार्यक्रमका संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित फुजी प्रजातिमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेन डेलिसियसमा १७ ब्रिक्स चिनी मापन भएको छ। फलेमा भने फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स पाइएको छ।
घुन्सा र फलेमा विदेशी सहयोगसहित संचालित स्याउ बगैँचाको सफलतापछि किसानलाई स्याउखेती विस्तारमा सहयोग गर्ने योजना बनाइएको छ। गत साता स्वीट्जरल्याण्डबाट आएका विशेषज्ञ टोलीले केही किसानका जग्गा नापजाँच गरी आगामी विस्तार योजनाको आधार तयार पारेको छ

