मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी, २८ कात्तिक – मधेस प्रदेशमा उमेर नपुग्दै हुने विवाहको समस्या अझै पनि गम्भीर रूपमै देखिएको छ। बालविवाह रोकथामका कानुन तथा विविध अभियान सक्रिय रूपमा सञ्चालन भइरहेका भए पनि तथ्याङ्कले प्रदेशमा बालविवाहको दर उच्च रहेको देखाउँछ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणना आधारमा सार्वजनिक गरेको विवरणअनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुनेको संख्या ०.२ प्रतिशत छ। त्यस्तै १०–१४ वर्ष उमेर समूहमा ९.३ प्रतिशत र १५–१७ वर्षका २७.७ प्रतिशतले विवाह गरेका छन्। १८–२० वर्षमुनिको समूहमा यो दर ३९.५ प्रतिशत छ। यसमा पुरुषको औसत उमेर करिब २० वर्ष भए पनि महिलाको औसत उमेर १७ वर्षको हाराहारीमा देखिएको छ।

१८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको संख्या मधेसमा ४२.४ प्रतिशत रहेको छ। महोत्तरीमा यो संख्या अझ बढी ४३.३ प्रतिशत रहेको सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका सञ्चार अधिकृत झम्केश्वर ओझाले जानकारी दिनुभयो। प्रदेशमा पहिलो विवाहको औसत उमेर १८ वर्ष छ, जसमा पुरुषको औसत उमेर २० वर्ष र महिलाको १७ वर्ष रहेको तथ्याङ्कले देखाउँछ। २१–२४ वर्ष उमेर समूहमा विवाह गर्नेको संख्या १४.५ प्रतिशत छ।

जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णका अनुसार २०७८ पछि बालविवाह रोथथामका कार्यक्रम विस्तारसँगै स्थिति उल्लेख्य रूपमा सुधार भएको छ। मधेसका १५ मध्ये सात स्थानीय तहमा सामाजिक संस्था साझेदारीमा चलाइएका अभियानले सकारात्मकरूपमा प्रभाव पारेको कर्णको भनाइ छ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार २०७८ सम्म गम्भीर समस्या रहेको बालविवाह अहिले नगर क्षेत्रमा लगभग शून्यमा झरेको छ। “बर्सेनि तथ्याङ्क संकलन, छोरी तथा किशोरी शिक्षा कार्यक्रम, र बस्तीस्तरका अभियानले उत्कृष्ट नतिजा दिएको छ”, उहाँले बताउनुभयो।

यो समस्या नियन्त्रण गर्न मधेस प्रदेश सरकारले २०७८ मै सन् २०३० सम्म प्रदेशलाई ‘बालविवाह मुक्त’ घोषणा गर्ने लक्ष्यसहित १० वर्षे रणनीतिक योजना अघि सारेको छ। साथै प्रदेश बालअधिकार ऐन २०७७, लैङ्गिक समानता नीति २०७८, बाल सहभागिता कार्यविधि २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन २०८१ र ‘बेटी बचाउ, बेटी पढाउ’ जस्ता सरकारी कार्यक्रमले पछिल्लो वर्षहरूमा उल्लेखनीय सुधार ल्याएको जिल्ला समन्वय समितिका प्रमुख कर्णले बताए।

Facebook Comments Box