विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ, २८ कात्तिक – विविध चेतनामूलक कार्यक्रमहरूसहित आज विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, अस्पताल र समुदायस्तरका समूहहरूले मधुमेह जोखिम, रोकथाम तथा उपचारबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस औपचारिक रूपमा मनाइँदै आएको हो। मधुमेह नियन्त्रण तथा उपचारका लागि सदस्य राष्ट्रहरूले आफ्नो स्वास्थ्य प्रणालीअनुसार दीर्घकालीन नीति निर्माण गर्नुपर्ने आग्रह राष्ट्रसंघले गर्दै आएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का तथ्यांकअनुसार सन् २०१४ सम्म विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जबकि १९८० मा यो संख्या करिब १० करोड मात्रै थियो। मोटोपना, अस्वस्थ जीवनशैली, शारीरिक गतिविधिको कमी तथा असन्तुलित खानपानका कारण मधुमेह द्रुत गतिको वृद्धि भएको डब्ल्यूएचओको निष्कर्ष छ।

स्वस्थ आहार, नियमित व्यायाम, धूमपान तथा मद्यपानबाट टाढा रहने जस्ता जीवनशैली सुधारहरू मधुमेह रोकथामका प्रभावकारी उपाय मानिन्छन्। यसैले बढ्दो मधुमेह नियन्त्रण गर्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना अभिवृद्धि तथा स्वास्थ्यमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।

Facebook Comments Box