दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर, २७ कात्तिक – भारतमा वर्षौँ मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्री व्यवसायमार्फत मनग्य आम्दानी गर्न सफल भएका छन् । परदेशमा कमाएको अनुभव र परिश्रमलाई उनले अब स्वदेशमै प्रयोग गर्दै आत्मनिर्भर जीवन बिताइरहेका छन् ।

रानाले सन् २०६८ सालमा साइकलमा दुई लिटर दूध सङ्कलन गरेर बिक्री सुरु गरेका थिए । निरन्तर मेहनत र लगनको परिणामस्वरूप आज उनी डेरी व्यवसायका सफल मालिक बनेका छन् । हाल उनी दैनिक झण्डै एक हजार पाँच सय लिटर दूध सङ्कलन गरेर बिक्री गर्छन् । “भारतमा मजदुरी गर्दा धेरै दुःख पाइयो, त्यसैले गाउँ फर्किएर आफ्नै प्रयासमा केही गर्ने निर्णय गरेँ,” रानाले सम्झिँदै भने, “सुरुमा साइकलमा दूध बेच्थें, अहिले आफ्नै डेरी सञ्चालनमा छ ।”

सुरुवाती कठिनाइ पार गर्दै उनले गाउँगाउँबाट दूध सङ्कलन गरेर झलारी बजार, अत्तरिया र कैलालीसम्म बिक्री गर्ने सञ्जाल विस्तार गरेका छन् । अहिले रानाले दूध बोक्नका लागि ६ जनालाई रोजगारी दिएका छन्, जसलाई मासिक २० हजारदेखि २६ हजार रुपैयाँसम्म तलब प्रदान गर्छन् ।

उनका अनुसार अहिले सबै खर्च कटाएर वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी हुन्छ । यही व्यवसायबाट उनले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जोडिसकेका छन् । “दुई लिटर दूधबाट सुरु गरेको व्यवसाय आज यस अवस्थामा पुगेको छ । अब छोरालाई पनि यही व्यवसायमा लगाएको छु,” उनले बताए ।

विदेश रोजगारीको लोभमा युवाहरु देश छोडिरहेका बेला रानाले आफ्नै गाउँमा श्रम र मेहनतका भरमा सफलता हासिल गर्दै उदाहरण प्रस्तुत गरेका छन् । गाउँमा फर्किएर परिश्रम र लगनका साथ अघि बढेका उनी अहिले समुदायका लागि प्रेरणादायी व्यक्ति बनेका छन् ।

Facebook Comments Box