भोजपुर–काठमाडौँमा अब हप्तामा चार उडान

भोजपुर, २५ कात्तिक – पहाडी जिल्ला भोजपुरमा हवाई सेवा विस्तार भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (Nepal Airlines)ले अब हप्तामा चार उडान सञ्चालन गर्ने भएको छ।

पहिले हप्तामा बिहीबार र शनिबार दुई उडान मात्रै सञ्चालन हुँदै आएकोमा अब मङ्गलवार, बुधबार, बिहीबार र शनिबार गरी चार दिन नियमित उडान हुनेछ। नयाँ तालिका कात्तिक २६ गतेदेखि लागू हुने निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो।

खड्काका अनुसार, केही समयअघि प्राविधिक कारणले कटौती गरिएको उडान तालिका मर्मत सम्पन्न भएपछि पुनः विस्तार गरिएको हो। निगमको अर्को जहाज मर्मतपछि सञ्चालनमा आएपछि भोजपुरका यात्रुका लागि उडान संख्या बढाइएको हो।

नेपाल वायुसेवा निगमले यात्रुलाई आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्था समेत उपलब्ध गराएको छ।

यसैबीच, सडक यातायात सञ्चालनमा आएपछि भोजपुर–विराटनगर उडान भने बन्द भएको छ। भोजपुर विमानस्थलमा विसं २०३५ सालमा घाँसेमैदानबाट सुरु भएको उडान सेवा अहिले कालोपत्रे रनवे सहित सञ्चालनमा भए पनि निगमको जहाजले मात्र नियमित उडान गर्दै आएको छ।

उडान संख्या कम हुँदा भोजपुर–काठमाडौँ यात्रुहरू लामो समयदेखि समस्यामा परिरहेका थिए। नयाँ तालिकाले यात्रुहरूको सहजता र हवाई पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box