प्रहरी कार्यालय तोडफोड प्रकरणमा संलग्न १२ जना पक्राउ
झापा, २५ कात्तिक – जेनजी प्रदर्शनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले भवन र सवारीसाधनमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेका थिए।
ती घटनाको सिसीटिभी फुटेज, भिडियो र फोटोको अध्ययन तथा विश्लेषणका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरूमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना, ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड–५ की २४ वर्षीया पूजा मगर, अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ बस्ने २२ वर्षीय साजन ल्हागुन रहेका छन्।
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो। जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालयहरूमा आगजनी र लुटपाट हुँदा ९९ थान हतियार लुटिएका थिए। तीमध्ये ७७ थान हतियार फिर्ता भइसकेका छन् भने २२ थान अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

