महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती देशभर मनाइँदै
काठमाडौँ, २५ कात्तिक – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका महान् प्रवर्द्धक मानिन्छन्। समाज सुधारका उद्देश्यले उहाँले तयार गर्नुभएको “सत्य धर्म मुचुल्का” नामक नीति १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो, जसले किरात समुदायमा नीतिगत सुधारको आधार तयार गर्यो।
महागुरु फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो। उहाँको असाधारण योगदानको सम्मानस्वरूप नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। फाल्गुनन्द जयन्ती विशेष रूपमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा लगायत किरात समुदायको बसोबास भएका क्षेत्रहरूमा भव्य रूपमा मनाइँदैछ।
राजधानी काठमाडौँमा पनि किरात ज्योतिष सङ्घ लगायतका संघसंस्थाले विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरी जयन्ती मनाइरहेका छन्। किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार, महागुरु फाल्गुनन्दको शिक्षालाई नयाँ पुस्तामा फैलाउनका लागि यस वर्षको जयन्तीमा सांस्कृतिक प्रदर्शन, गोष्ठी र सामूहिक पूजा कार्यक्रम आयोजना गरिएको छ।

