निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २३ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन र लोकतन्त्रलाई सुदृढ गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी नेपाल) को प्रथम वार्षिकोत्सव तथा एनटिभी वर्ल्ड शुभारम्भ समारोहमा बोल्दै राष्ट्रपतिले निर्वाचनको वातावरण निर्माणमा सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भने,

“युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ सुदृढ बनाउन फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल पार्न सञ्चारमाध्यमले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो।”

उहाँले सार्वजनिक सेवा प्रसारण संस्थालाई सरकारी वा व्यावसायिक स्वार्थभन्दा माथि उठेर “नागरिकको संस्था” का रूपमा काम गर्नुपर्ने उल्लेख गर्दै भने,

“सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले राष्ट्रहितमा र जनताका पक्षमा निष्ठापूर्वक कार्य गर्नुपर्छ।”

राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताका आधारमा स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चार प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिए।

उहाँका अनुसार, सत्य, तथ्य र विश्वसनीय सूचना नागरिकको मौलिक अधिकार हो भने, त्यस्तो सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य र दायित्व हो।

हालका दिनमा भ्रामक समाचार र गलत सूचनाको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोगबाट नागरिकलाई भ्रममा पार्ने जोखिमबारे सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरे।

उहाँले इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिको तीव्र विकासले समाचार सम्प्रेषणको स्वरूपमा आएको परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मन्त्रालयका सचिव राधिका अर्याल, पीएसबी नेपालका अध्यक्ष महेन्द्र विष्टलगायतको उपस्थिति थियो उक्त अवसरमा राष्ट्रपतिले एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ गर्दै पीएसबी नेपालको लोगो र मोबाइल एप सार्वजनिक गरे।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई नयाँ कानुनअनुसार एकीकृत गरी स्थापना गरिएको सार्वजनिक सेवा प्रसारण नेपाल (PSB Nepal) ले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो। अध्यक्ष विष्टका अनुसार, “नागरिक प्रथम” अवधारणाअनुसार प्रसारण सेवालाई रूपान्तरण र विस्तार गर्दै लगिएको छ।

Facebook Comments Box