कञ्चनपुरमा मुक्त हलियाको पुनःस्थापनाको कार्य ठप्प
कञ्चनपुर, २१ कात्तिक – कञ्चनपुरमा मुक्त हलियाको पुनःस्थापनाको काम सात वर्ष बित्दासमेत टुंगोमा पुगेको छैन । स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गरिएपछि पुनःस्थापनाको प्रक्रिया ठप्प अवस्थामा पुगेको हो । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार हलिया पुनःस्थापन समस्या समाधान समितिको अवधिमा काम अगाडि बढेको भए पनि २०७६ सालमा सो जिम्मेवारी स्थानीय तहमा पुगेपछि कुनै प्रगति हुन सकेन ।
“स्थानीय तहले ‘क’ श्रेणीका १६१ जना मुक्त हलियालाई घर निर्माणसहित जग्गा खरिद गरी पुनःस्थापना गर्ने जिम्मा पाएको थियो,” अध्यक्ष लुहारले भन्नुभयो, “तर कोरोना महामारीका कारण काम रोकियो, केन्द्रले पठाएको रकम खर्च व्यवस्थापन गर्न नसक्दा फिर्ता भयो, त्यसपछि त बजेट नै रोकियो ।”
उहाँका अनुसार ‘ख’ र ‘ग’ श्रेणीका ७२३ जना मुक्त हलियाले पहिलो किस्ताको रकम त पाए, तर दोस्रो किस्ता पाउन सकेका छैनन् । घर मर्मत र पुनःनिर्माणका लागि रकम अभाव हुँदा धेरै हलिया परिवार अझै पनि असुरक्षित अवस्थामा झुपडीमै बस्न बाध्य छन् ।
“मन्त्रालयबाट रकम पठाउने प्रक्रिया नै रोकिएपछि पुनःस्थापनाको सम्पूर्ण कार्य ठप्प भयो,” उहाँले भन्नुभयो, “मुक्त हलिया अझै पनि कठिन र अनिश्चित जीवन बिताइरहेका छन् ।” मुक्त हलिया अगुवा अन्तराम वडका अनुसार हालसम्म पुनःस्थापित १,८३० परिवारमध्ये रोजगार र आम्दानीको अभावमा धेरै बस्ती छाडेर भारततर्फ पलायन भएका छन् ।
“कतिपयले घरमै ताला लगाएर भारत गएका छन् भने केही बस्तीमा महिला, बालबालिका र वृद्ध मात्र बाँकी छन्,” उहाँले बताउनुभयो । हाल कञ्चनपुरमा १,९९१ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेका छन् । जसमा ‘क’ श्रेणीका ३९४, ‘ख’ श्रेणीका ७९९, ‘ग’ श्रेणीका ६४ र ‘घ’ श्रेणीका ७३४ जना रहेका छन् । सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लामा मात्र पुनःस्थापनाको काम पूरा भएको भए पनि अन्य जिल्लामा यो प्रक्रिया अझै अधुरो रहेको राष्ट्रिय मुक्त हलिया समाजले जनाएको छ ।

