अविरल वर्षाले पाकेर थन्क्याउन लागेका धानबालीमा क्षति, कृषक चिन्तित

खोटाङ, १५ कात्तिक – पाकेर थन्क्याउन लागेका धानबाली अविरल वर्षाले नष्ट गरेपछि खोटाङका कृषक चिन्तित भएका छन्। तीन दिनदेखि लगातार परिरहेको वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा धानबालीमा व्यापक क्षति पु–याएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका किसान चेतनाथ आचार्य ले यस वर्ष ३५ रोपनी खेतमा लगाएको धान वर्षाले ढलेर सोतर भएपछि भोकमरीको चिन्ता भएको बताए।

“प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भयो,” उनले भने, “अब वर्षभरि खान पनि पुग्ने छैन, सरकारले राहतको व्यवस्था गर्नुपर्छ।” कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदी का अनुसार, यस वर्ष समयमै वर्षा भएकाले रोपाइँ समयमै सम्पन्न भएको र उत्पादन राम्रो हुने अनुमान गरिएको थियो।

“तर पछिल्ला केही दिनको अविरल वर्षाले ठूलो क्षति पुर्‍याएको छ,” उनले भने, “हाल क्षतिको तथ्यांक संकलन भइरहेको छ, यकिन विवरण आउन बाँकी छ।” खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी ९,९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। यस वर्ष २५ हजार ६४९ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो।

तर पाकेर थन्क्याउन लाग्दा परेको लगातारको वर्षाले धानमा ठूलो क्षति गरेकाले उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन्। अधिकांश कृषकले धान ढालेर खेतमै सुकाउने क्रममा लगातारको वर्षाले पाँजा डुबाएको जनाएका छन्।

खेतका आँठामा सुकाइराखिएको धान पानीले भिजेर बिग्रिएपछि दाना झर्ने, अंकुर आउने र सोतर हुने समस्या देखिएको छ। यद्यपि, वर्षाले गहुँ, सागसब्जी र फलफूलजस्ता हिउँदे बालीमा केही राहत मिलेको किसानहरूको भनाइ छ। तर जिल्लाको प्रमुख बाली धान भएकाले यस वर्षको क्षतिले भोकमरीको अवस्था आउने चिन्ता बढेको छ

Facebook Comments Box