निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १५ कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको वर्तमान राजनीतिक अवस्था, निर्वाचन तयारी र सरकारका गतिविधिबारे भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बन्दै गएको जानकारी दिनुभयो ।

उहाँले सरकारको तर्फबाट अधिकतम प्रयास भइरहेको उल्लेख गर्दै “सबै पक्षको सहकार्य बिना निर्वाचन सफल हुँदैन” भन्ने धारणा राख्नुभयो । प्रधानमन्त्री कार्कीले जेनजी समूह र विभिन्न राजनीतिक दलबीच संवाद भइरहेको बताउँदै सबैलाई विश्वासमा लिएर निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मा लगाउने आफ्नो उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

“सुशासन कायम गर्ने र निर्वाचन गराउने यो सरकारको प्रमुख लक्ष्य हो,” उहाँले भन्नुभयो, “हामी आलोचनाबाट डराउँदैनौँ, जिम्मेवारी पूरा गर्छौँ ।” प्रधानमन्त्रीले आगामी निर्वाचनमा राजनीतिक दलहरूको निषेध होइन, उत्साहपूर्ण सहभागिता आवश्यक रहेको बताउनुभयो ।

उक्त छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित हुनुहुन्थ्यो ।

Facebook Comments Box